तिमी क्या आधुनिक छौ, व्हा !

https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgvpgkEHZ3yjv6Pe-NgN0Ede-auINa8NKtPtHiMdKTSqQdsvNHTj5RjmLlYoLR6yQP2OoLPXql06g5__6qxkjbp0YJrpGWfHxJGdlGuweHtQEQ4oIQIQFjrwCWx8jZCK80r-kWtEMqvbOjt/s1600/suraj.jpgपाठकहरुलाई गलत अर्थ नलागोस् , सभ्य नागरिक भएर बाँचिरहेका चेलीहरुप्रति मेरो सधैं  नै सम्मान छ। रक्सि  पिउनु वा चुरोट तान्नेहरु गलत हुन् भन्न पनि खोजेको होइन।  मन मिलेपछी हुने सम्बन्धका प्रति मेरो भन्नु केहि छैन तर यसलाई नै आधुनिकीकरणको संज्ञा दिएर ब्यबहार र बिचारको आधुनिकीकरणलाई बिर्सिनु भने गलत हो कि भन्ने मेरो धारणा हो।  कनिकुती अंग्रेजी बोलेर जवर्जस्ती ओठ बंग्याउंदै आधुनिकताको बेमौसमी बाजा बजाउनेहरुका लागि मेरा सब्दहरु बगिरहेछन् आज ।र यो त्यहि आफुलाई तर्क बिना आधुनिक भन्न रुचाउनेहरुमध्येकी एक पात्र संगको एउटा अनुभव जसलाई गलत नाबुझियोस् , बुझ्न इन्कार पनि नगरियोस् ।   

आधुनिकताको सुरुवात जन्म जातै भएनछ क्यारे,  कहाँ तिमि आमाको गर्भ  मै  ९ महिना सम्म रसिलो पोषिलो खाएर महँगो अस्पतालका महँगा डाक्टरहरुले तिम्री आमाको पेटलाई चिरफार गर्दै सानदार रुपमा जन्मिएकी छोरी , कहाँ म घाँसको भारि ल्याएर दलानमा विसाउंदै व्यथाले छटपटिएकि आमालाई चुल्होनेरको थाममा अढेस लगाउंदै संसारको सबैभन्दा ठुलो पिडा दिएर  यो धरतीमा पहिलोपल्ट पाइला टेकेको छोरो।  

कहाँ तिमी बामे सर्दै गर्दा ललि पपको स्वाद पाएकी बच्ची, कहाँ म पिप्लामेट पाउँदा संसार जितेको धक्कु लगाउने बच्चो । कहाँ तिमी ओठ निचोर्दै दुध आउने उमेरमा तिम्रै भाषामा  'लव' गर्ने ठिटी कहाँ म रोपारे  तरुनीहरुले असारे भाका गाउँदा पनि लजाउने लाठे। अनि कहाँ मिल्थ्यो र संस्कार हामीलाई, कसले सिकायो र आधुनिक हुन, अनि कहाँ जानिन्थ्यो र तिम्रोजस्तो सहरिया रहनसहन अनि हामीलाई बेइजतिलो लाग्ने तर तिम्रो भाषामा 'नर्मल' संस्कार !

मैले कहिले पनि उसलाई गलत सोचिन। सोच्दिन। सोच्ने अधिकार पनि छैन। तर मैले सधैं एउटा फगत चिनेजानेको  एउटी केटी यो शहरको एक आधुनिक युवती भएको भन्दै आफ्ना कथाहरु सुनाइरहेछिन् आज मदिरामा लट्ठ भएर। र म त्यहि सब्दमा उतार्दैछु।   

 उनले उनको पछिल्लो जवानी कथा सुनाउंदै गर्व गर्दै भनिन् , " हामी भनेका २१ औं सताब्दिका आधुनिक केटीहरु हौँ।  अरुको बाल मतलब ! " उ एकोहोरो भन्दैछे," अचम्म लाग्यो तिमि रक्सि पिउँदारहेनछौ , थाहा छैन किन यो 'लाइफ' लाई 'इन्जोय' गर्दैनौ ? मेरो हेर , कस्तो मस्त छ लाइफ ! मन  लागेको खान्छु, पिउँछु। कसैसंग रोमान्स गर्नु मेरो शरीरको माग हो।  प्रकृतिले नै माग गरिदिए पछी के गर्नु त ! ( लामो हाँसो )

उनको र मेरो भेटको पहिलो दिन, जहाँ उनी  टाउका देखि पैताला सम्म पोतिएकी थिई , सृंगारले कम र बैंशले  बढी।  मुस्किलले आधा मिटरको कपडाले ढाकिएको उनको शरिर, सायद उनले सोचेको, तर मैले नदेखेको सौन्दर्यता, अनि देखाउन मिल्ने सबै र नमिल्ने पनि अलि अलि देखाउँदै कुच्चीएको मुखलाई अझै कुच्याउँदै चुइंगम चपाउँदै, "ओह ! रियल्ली " भन्दै कसैलाई फोनमा कुरा गरिरहेकी उनी ।

 यी बेमान आँखाहरु पनि उनको  अनुहार भन्दापनि अन्तै गए जस्तो लागिरहेको थियो।  धन्न मन बुझाएर हिंडियो आफ्नै बाटो। सायद फेसन भनेको यहि रहेछ।  दोश्रो दिन उनी  फेरी उही पाराले उनको  जवानीको दर्शन गराउन आएकि थिई  सायद! र पनि म, आफ्नै शुरमा अगाडी बढीरहें।  "हलो! " उनी बोली ।  धन्न मलाइ थाहा थियो कसैले त्यसो भनेपछी 'हाई' भन्नु पर्छा भनेर किनकि किशानकै छोरो भए पनि पढे लेखेकै थिएँ।

  "हाई ! म बोलें। " हजुर त कस्तो होइसिँदो रहेछ,  बोल्दै नबोल्ने ! " सुरु भयो उसको सियो र धागोको भाषा, म मोरो के बोल्न जान्दथ्यें र ? "त्यस्तो होइन " म यति बोलेको मात्र के थिएँ, त्यस पछी सुरु भयो उसका टुठे फुटेका अंग्रेजी गफ ! बोल्दै जाँदा साथी भइएछ। फेसबुकमा जोडिने बाचा गरियो। एसएलसी दिंदा के पढेकी थिई  होला र मेरो पफेसबुक प्रोफाइल त्यति पढ़िछ मोरीले।  त्यसपछी त मलाइ मेरै गफ पो दिन थाली त ! " वाओ ! तपाईं त जर्नालिस्ट पो हुनुहुँदो रहेछ, आइ रियल्ली लव जर्नालिजम' मसंग 'थ्यांक यु' भन्नु बाहेक केहि पनि विकल्प थिएन तर उनी बोलिरही बिग्रेको रेडियो जसरि सियो र धागोको भाषामा। यस्तैमा केहि दिन बित्यो।  फेसबुकमा फोन नम्बर पनि साटासाट भयो। धेरैलाई पालो पुर्याउनु पर्ने भएर होला मेरो फोनको घन्टी लगभग राति ११ बजे तिर बज्यो । 

 उठाउन मात्र के लागेको थिएँ 'मिसकल' रहेछ। बेक्कार निन्द्रा मात्र ढुस ! फेरी एक छिनपछी मेसेज आयो , मलाई  अलिकति बेलेन्स ट्रान्सफर गरिदिश्यो न ! राति राति एमर्जेंसी परेछ क्यार भनेर गरिदिएँ।  एक छिनपछी फेरी मिस कल आयो।  कल फर्काएर के भयो भनेर सोधेको त ! ब्यालेन्श आयो भनेर थाहा दिएको रे ! हे भगवान ! कति सम्म हुन्छन् है मान्छेहरु ! एकछिन पछि फेरि संदेश आयो  "कल गर्नु न।"  फेरि  राति राति के परेछ भनेर कल गरेको त हलो के गरेर बसिराक्स्या छ रे ! सकिएन अब ? सुतिराको छु ! त्यस पछी किन कसरि कहाँ, सुरु भैहाल्यो नि मेरो मोबाइलको ब्यालेन्स साफ पार्ने हर्कत !  ब्यालेन्स हाल्दिनु अनि फेरि  आफ्नै पैसामा  उनका हावा गफ सुन्नु पर्ने ! वाक्क दिक्क प्याक्क भएपछी फोन काटेर अफ गर्नुको बिकल्प  भएन।

भोलिपल्ट कतै भेटौं भन्ने अफर आयो।  एक मनले त नजाउँ नै लागेको थियो तर  पनि फेरि  राति अर्को बकबक सुन्नु पर्छ भनेर लागियो उसैले बोलाएको ठाउँमा।  म जाने बित्तिकै अँगालो पो मार्छे बा ! आफु मोरो लाजले रातो पिरो ! उसै त  कालो अनुहार त्यहि माथि रातो भाको ! बर्बाद भएन त !  अफिसबाट भर्खर फर्किंदै गरेको मलाइ औल्याउन्दै उनले भनिन् , के यस्तो गाउँले पाराको टोपी लगाएको।  नेपाली  बन्ने त टिभीमा पो हो त ! अरु ठाउँमा होर ? आउन त मेरो मनमा पनि सात पुस्तालाई पुग्ने जवाफ थियो तर रछानलाई चलायो छिटा भन्छन भनेर केहि बोलिन। र सुनिरहेछु उनीलाई।

त्यसपछी  उनी बोली , के लिनुहुन्छ ? मैले मेनु हेर्दै भने, तिमि के खान्छौ भनन, मैले चाहिं म:म: खान्छु। "खाजामा म:म अनि ड्रिंक्स मा ?" उसको प्रश्न सुन्दै गर्दा म झस्किएँ ." मैले कहिले पनि पिउने गरेको छैन । " "जोक नगर्नुस न।"  उनी बोली।  हो भनेको साच्चै छैन।  उनले  रिसाउंदै भनी, "आजकलको केटाहरुले ड्रिंक्स गर्दैनन् भनेर कसैले पत्याऊँछ ?"  मेरो अनुमति बिना उनले दुवै जनालाई मदिरा मगाई। 

 रक्सि भनेपछी गन्ध नै मन नपर्ने म किन पो खान्थ्यें र ? तै पनि उनले मगाई छाडी ! एकै छिनपछी वेटर भाइले सबै 'ब्यबस्था' ल्यायो।  उनले चियर्स गरौँ भनी तर मैले लगातार त्यसको इन्कार गरिरहें। उनि रिसाई।  मलाई आँखा तरी।  रक्सि तिर इशारा देखाउदै अनुरोध गरी, जवर्जस्ती पिलाउन खोजि तर म मान्दै मानिन।  केहि बाहाना त बनाउनु थियो अनि मैले केहि समयपछी पिउने बाचा गरेर उनलाई चियर्स गरें तर के जान्थ्यो र यो स्वाद नपाएको बाहुनको मुखमा।  उनि एकोहोरो मलाई हेरीरही  र डुब्दै गई नशामा। लिउन !

 उनको अनुरोधपछी रक्सि पिए जसरि अर्को गिलासमा ल्याएको कोल्ड ड्रिंक्स लिएँ, किनकि मलाइ रक्सि त परै जावोस त्यसको गन्ध पनि मन पर्दैनथ्यो।  उनी निरन्तर पीईरही  र २-३ पेग लगाएपछी उनी बोली " तिमीले खाएनौ, नखाउ !" म अचम्ममा परें अगीको आइस्यो र खाइस्यो अब तिमिमा रुपान्तरण भएको थियो तर म केहि बोलिन। बेक्कार आए छु जस्तो लाग्यो।  जान मन गरें।  अब जाउँ।  मेरो अनुरोधको बदलामा उनी बोलिन् "एकछिन पख।  तिमिसंग आज कुरा गर्नु छ।"  के कुरा ? मैले सोधें एकछिनमा भन्छु। छिटो गर मेरो घरमा ढिलो भयो भने गाह्रो हुन्छ।  ढिलो हुन्छ भनेर खबर पनि गरेको छैन। 

" हुन्न म घर जान्छु" मैले जिद्दी गरे पछी उनले आज यतै बस्ने , संगै कुनै गेस्ट हाउसमा  गएर रमाइलो गर्ने प्रस्ताब गरी।  नाइँ हुन्न, तिमि र म मात्र साथी यस्तो केहि हुन्न, मेरो कुराको प्रति उत्तरमा उनी बोली वा रक्सि, बोल्यो , १५ मिनेट पर्खन आग्रह गरिन र मलाइ आँखा तर्दै अन्तिम पेगलाइ उनकै भाषामा 'ग्याम्मे' हानेर मलाई यसरि हकारिन् आधुनिक नभएको भन्दै !

"तिमी मान्छे अचम्म छौ, एक पेग रक्सि खान सक्दैनौ भने के गरी खान्छौ 'लाइफ' मा !, एक खिल्ली चुरोट तान्न नसक्ने लाछिले लाइफमा के गर्न सक्छौ ? आजको युगमा पनि कसैसंग रात बिताउनुलाई 'अबैध' ठान्छौ भने कुन स्वतन्त्रताको कुरा गर्छौ तिमी, तिमीले मसंग हात मिलाउंदा केहि हुँदैन भने शरिर सुख लिंदा के बिग्रिन्छ ? तिमीहरु जस्तो त गाउँ मै ठिक छ ! यो सहर त हामीजस्ता आधुनिकहरुले चलेको छ।  तिमी जर्नालिस्ट मान्छे काठमाण्डौमा कति डान्स बार छन्, कति गेस्ट हाउसहरु छन् र त्यहाँ मान्छे किन जान्छ भन्ने पक्का थाहा होला ! 

अचम्म मैले मेरा कति केटा साथीहरुसंग संगत गरें तर तिमि जस्तो 'झुर' कोहि भेटिन।  आधुनिक हुन सिक आधुनिक ! यो हाम्रो हजुर बाउको पाला होइन " उनी बोलीरही, म सुनीरहें, उनी अझै पनि मसंग केहि खोजिरहेकी थिई ,एक मनले त आफ्नो कुमारीत्व यहींबाट भंग गरौँ जस्तो पनि लागेको थियो तर म सम्हालिएँ ।  म फस्न सक्छु भन्ने सोचेरमा केहि नसोची जुरुक्क उठेर घर लागें।  उनी नेपथ्यमा बोल्दै थिइ," ओह हलो अनि के नारी अधिकारका कुरा गर्छौ पत्रकार महोदय , जव नारीकै चाहाना पुरा गर्न सक्दैनौ भने ? म पछाडी हेर्दै नहेरी आफ्नो बाटो लागें। उनी मलाइ 'पख' भन्दै थिईन् , मैले सुन्दै सुनिन।

आज यसो सोच्छु के यहि हो आधुनिकता ? के उनले भने जस्तै रक्सि खानु र चुरोट पिउनुसंग आधुनिकता जोडिएको छ ? के पर नारिसंग सम्बन्ध गांस्नु आधुनिकता हो ?  म फेरी सोच्दैछु, यदि उनको ठाउँमा म भएको भए सायद मलाइ अनेक थरि आरोप लाग्थ्यो होला।  मलाइ बलात्कारको आरोप समेत लगाउन सक्थि होला, उनले मेरो देश को लाचार कानुन को फाइदा उठाएर।  तर अचम्म उनी आधुनिक भएपछी सब सक्किने रहेछ अनि त हामि फगत 'पाखे' ! र यदि यहि आधुनिकता हो भने म आधुनिक बन्दिन।  

मलाइ कहिले पनि मेरा बाले रक्सि खाएर ठुलो भइन्छ भनेर सिकाएनन्।  गुरुहरुले चुरोट पिउनेहरू आधुनिक हुन् भनेर पढाएनन्। साथी संगतले पनि परनारिसंग सम्बन्ध राख्नु नै आधुनिक हुनु हो भनेर पनि सल्लाहा दिएनन् र म त्यसैमा ठिक छु।  म मनको आधुनिक बन्न खोज्दैछु।  ब्यबहारको अनि बिचारको आधुनिक ! तर तिमी, आफ्नै आधुनिकतामा रमाउ।  तिमि आधुनिक छौ।  हो आधुनिक छौ।  तिमि क्या  आधुनिक छौ।  व्हा!

-नेप्लिज टाइम्स मासिकको २०७२ साल कार्तिक अंकमा प्रकाशित