नसुतेको 'म' र नब्युझेको 'देश'

https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi5ffMwwX0t7OJZNjPs0NhzSJgW85q1wmjaAf3tbs_5YWFB-rmmFkBqU9A-tHrIpOKD294xPR7sCzPTpO_DRxYd78NLomYOUifyJ3tyMvVRT0tscYnS57AkB5WX5B-qTVU_-iRXx8ZpFf7q/s1600/20140809_104455.jpgजति काम गरे पनि के गर्छस ? संगै पढेको साथी  (जसले प्लस टु पनि पास गरेको छैन) ले दुवईमा महिनाको लाख कमाउन थालिसक्यो।  तेरो बेकारको टनटन। वर्षभरि काम गर्यो दशैँ मनाउन नै टेन्सन छ ! कहिलेकाही आफैलाई आफैले सोधेर आफैलाई धिकार्ने प्रस्न हो यो। उही एक सिरियलमा बेलासे नामको एक पात्रले भन्थ्यो नि, 'तनाबै तनाब छ, गोजीमा दुई रुपियाँ छैन ! त्यस्तै भद्रगोल छ धेरै नेपालीहरुको जिन्दगि आजकल !

 यस्तैमा एक दिन काम र पढाइमा अलिकति फुर्सद निकालेर टिभि हेर्दै थिएं,  धन्न आफ्नै भएर  फ़ुटाउन मन लागेन, देशका प्रधानमन्त्रीले बोलेको सुन्दा। देशमा संबिधान ल्याउन अब 'उ' गर्नु पर्छ रे !  कोइरला बाले केलाई 'उ' भने पत्तै भएन। सायद धेरैले नबुझेको तर बुझ्न चाहेको 'उ'  हो त्यो ! तर कोइराला बाले 'उ' भन्दै गर्दा म झस्किएँ, देशमा कोइराला बाको 'उ' को चर्चा छ तर मेरो 'उ' अर्थात चर्चा हुनु पर्ने तर गुमनाम भएको दाजु, जो इन्जिनीयर पास थियो।  तर एसएलसी फेलहरुले जिम्मा लिएको मुलुकमा उसको इजत हुने कुरै भएन।  उ परदेसीयो । पढ्ने बहानामा, आफ्नो भबिस्य खोज्दै , देशभित्र देश नभेटेपछि। 

 उसलाई एरपोर्ट सम्म पुर्याउन म पनि गएको थिएँ।  कठै उसको आखामा बिदेशिनुको कुनै खुसि थिएन।  आफ्नी बहिनीले 'दादा' भन्दै डाको छोडेर रोएको दृष्य नेपालको अन्तिम सम्झना बनाएर गयो।  ढोकाबाट भित्र छिर्दा उसले हल्लाएको हातले बिदाइ मात्र संकेत गरिरहेको थिएन, जीवनमा आफुलाई करिब २५ वर्ष लगानी गरेको देशलाइ छोडेर जाँदाको पिडाबोध गरिरहेको थियो।  तर उसंग त्यसको बिकल्प पनि त थिएन।  उसलाई त जीवन बनाउनु छ ! सायद यो देशमा उसले त्यो सम्भावना देखेन र सायद छैन पनि।

काठमान्डूमा सानै भए पनि आफ्नै घर।  एउटा गाडि, खुसि परिवार , थाई जागिर अनि कम तनाब सहितको जिन्दगि।  हर नेपालीहरुको बलात्कृत सपना हो यो।  तर देशको जिम्मा लिएकाहरु कोहि 'उ' गर्न मै ब्यस्त छन् कोहि 'उ' गर्न नपाएर त्यसको चांजोपाजो  मिलाउंदैछन। तर कठै यो देशका युवाहरु दिनदिनै  उडिरहेछन यो देशलाइ सरापेर।  अर्की पात्र काजोल।  नेपालमा सिए पढ्दै थिई।  हजार सपना देखेर पढ्न सुरु गरेकी उनी सिए भएको खास व्यक्तिलाइ देखेर ब्युँझी सायद ! बिदेशिन एसीसीए अध्ययन गर्दै नेदरल्याण्ड पुगी।

  उ भन्दै थिई  " केहि दिन अघि स्काईप मा कुरा गर्दै उनि भन्दै थिई, मैले जे गरें, त्यसका लागि म खुसि छु " तर यो देशले बुझ्नु पर्ने हो उनको खुसि भित्र खास तनाब छ।  आफ्नो देश छोड्नुको पिडा मात्र होइन, देशमा जिन्दगि नबन्नुको देशले दिएको खास मानसिक यातना पनि।  अब त देश पाखो बारी बन्दैछ।  

सम्भावना छ भनेर के गर्नु, गर्ने ठाउं नै नरहेपछी।  म सम्झिन्छु, मलाई राम्रो पढाउने गुरु जापान जानु भएको छ।  मलाइ माया गर्ने साथि कतार हानिएको छ।  मेरो प्यारो दाई पनि विदेशिएको छ।  मैले माया गर्ने मान्छे पनि विदेशिएकी छ।  अनि कुन सम्भावनाको कुरा गरौँ म यो देशसंग। नगरेको पनि होइन झन्डै अरबमाझैँ काम गरिन्छ बिहानदेखि बेलुकासम्म।  तर खोइ अवसर ? कुरामा मात्र अवसर भएर के गर्नु खासमा जीवन भित्र पिडा नै पिडा भएपछि।  आज पनि रात भर सुतिन।  बिहान को ९ बजेछ पत्तै भएन।

  तर अहँ मेरो अनिदो रातको कुनै पनि मतलब छैन।  म नसुतेर के गर्नु देख ब्युझेको छैन। कठै मेरो देश, ऊ त पाखा डांडाहरुलाई नगरपालिका घोषणा गराउंदैमा ब्यस्त छ ! र कठै म खोक्रो रास्ट्रीयता भित्र 'देश' खोज्दैछु अचेल !
(देशप्रेम साप्ताहिकमा प्रकाशित )