
"गाउँमा पिङ्ग हाल्ने कुरा छ। घरै अगाडिको रुखमा। दिउसो पालो आएन भने राति भए पनि मच्चिने मन छ " एउटा खास खुसिसंगैको दशैँ सुरुवात। जिन्दगिमा पहिलो पटक जिन्सको सर्ट र जिन्सकै पाइन्ट लगाउने धोको पूरा हुदैछ। खसीको २ खुट्टे भाग पनि भन्या छ रे ! वाह ! क्या मज्जा आउने भो दशैमा! मन मनै एउटा रमाइलो धुन बज्छ। माओली गाउमा त्यो धारा माथिको घरमा पहिला जानु पर्छ, एक एक रुपैयाका ५ वोटा नया नोट ! वाह ! झन् मज्जा ! दुइ-तीन वोटा दशैंको पैसा जम्मा गर्न पाए त साइकल आउथ्यो।
क्या सानसंग गुड्न पाइन्थ्यो। बुबा सप्तमीको दिन आउनुहुने रे ! खसी पनि हाम्रै घरमा काट्ने रे ! खुसिको सिमा नै छैन। मन त्यसै त्यसै गदगद भएको छ। आजभन्दा दशक अगाडिको दशैँको सम्झना हो यो। दशैँ भने पछि खुसिको एउटा सागर आइपुग्थ्यो घरमा, मनमा। दशैँभरिका लागि स्कुलले दिएको होमवोर्क बाहेक केहिको पनि चिन्ता छैन। त्यो पनि सक्काउला दशैँ तिहार बीचमा भन्ने हुन्थ्यो।
तर आजको दशैँ फेरिएको छ। दशैँ आउछ जान्छ, खास बिसेष केहि छैन। घरमा खसी काट्दाको खुसि हराएको छ। जिन्सको पाइन्ट लगाउदाको रमाइलो बिलाएको छ। हजार कै नोटको दक्षिणा भए पनि त्यो औपचारिकताको नमुना मात्र ! खोक्रो भएको उल्लाश।
जिम्मेवारीले थिचे पछि अंह यो दशैँमा कुनै रौनकता छैन। तर पनि आए पछि स्वागत गर्ने पर्ने रे यो दशैँलाइ ! र त मनाइयो खास उल्लाश बिना नै खोक्रो , खल्लो दशैँ ! टिकाको दिन बिहानै देखि नया लुगा लगाउने रौनक हराएको छ।
खास साइतको मतलब पनि ! र पनि हजुर आमाले ठिक सवा दश बजे टिकाको साइत जुर्या छ भन्ने खबर दिनुभो ! आफैलाई लाज लाग्दो कुरो, नाति पत्रकार, दशैँको साइत हजुर आमाले भन्नु भो ! बर्बाद ! र यस्तै औपचारिकतामा सकियो दशैँ। टिका लगाउदै गर्दा आमा बोल्नुभो ! "फूटा पनि खिचा है ! त्यो फ्यास्बुकमा हाल्दिनु।" अमेरिकामा मेरो भाइले हेर्छ ! वोहो ! दशैँ त आमालाइ पो लागेछ ! प्रविधिले दिएको फरक खालको खुसि।
आमाकै अनुरोधलाइ स्वीकार गर्दै फेसबुकमा फोटो हाल्न खोलेको मात्र थिए फेसबुक बाफरे ! टिकाको साइत सकेको १५ मिनेट नापुग्दै वालहरु रंगिन बनिसकेछन्। सबैलाई आ-आफ्नै ध्याउन्ति। कोहि दशैँमा घरमा टिका लगाएका कोहि विदेशमा ! फ़ोटै फोटा। यस्तो लाग्यो फेसबुक दशैँमय होइन कि दशैँ नै फेसबुकमय भएको छ।
हेर्दै गए वालहरु। खुसि साट्नेको कथा संगै दुख बाढ्नेको ताती पनि उस्तै ! मानौ कि उनीहरुका लागि फेसबुक भनेको जिन्दगीका ठेसहरु ब्यक्त गर्ने ठेस्बुक भएको छ। दशैँमा घर जान नपाएको पिडा होस् या बिदेशिनुको सबै छताछुल्ल भएर पोखिदै थियो फेसबुकमा ! दशक अगाडिको दशैँमा कहाँ त्यस्तो हुनु र !
सम्झिदा पनि सपना जस्तो लाग्छ ! जे होस् सकियो दशैँ। फेरी अर्को साल फर्किनेछ तर बाल्यकालको दशैँ खुसि सायद कहिल्यै नफर्किने गरि इतिश्री भैसक्यो। ठेस नै ठेस को भकारी भएको जिन्दगीमा खास दशैँ को उल्लाश रित्तिएको छ। जय फेसबुके दशैँ ! जय ठेस्बुके दशैँ !
-नेप्लिज टाइम्स मासिकको २०७२ साल कार्तिक अंकमा प्रकाशित